असुरक्षित बन्दै डोटीका सडक

असुरक्षित बन्दै डोटीका सडक

- in Local
165
0
Unsafe road in Doti_Radio Dauna Bebri 92.4 MHz_news_0720

२०७४ कार्तिक २२ बुधवार
शनिबार डोटीको के आई सिंह गाउपालिका–१ तिखात्तरबाट दिपायल गइरहेको से १ ज २६५ नम्बरको बलेरो जीप सोही गाउपालिका–३ वासुदेवीको देउरडीमा दुर्घटना हुँदा चार जनाले ज्यान गुमाए । दुर्घटनामा ३ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भयो । दुर्घटनामा परी गम्भीर घाइते भएका थप दुई जनाको अवस्था अझैसम्म पनि गम्भीर छ ।

दुर्घटनाको अनुसन्धानका लागि घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले सडकको अवस्था नाजुक भएको र मोड काट्ने ठाउँ नपुग्दा गाडी सडकबाट तल खसेको बताएका छन् ।
चुनावी अभियानका क्रममा डोटीमै रहेका भौतिक, योजना तथा निर्माण मन्त्री वीरबहादुर बलायर दुर्घटना लगत्तै घटनास्थल पुगे । उनले पनि सडकको अवस्था राम्रो नभएको प्रतिक्रिया दिए । उनी जस्तै एमाले वैकल्पिक केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका प्रत्यक्षतर्फका उम्मेदवार प्रेमबहादुर आलेमगरलगायत चुनावी दौडमा रहेका अन्य नेताहरु पनि पुगे । बाटोकै कारण दुर्घटना बढेको निष्कर्ष अवलोकनका लागि पुगेका सबैको छ ।

डोटीका ग्रामीण कच्ची सडकमा भएको दुर्घटना यो पहिलो होइन । साउनयता मात्रै दुई अन्य दुर्घटनामा १२ जनाले ज्यान गुमाईसकेका छन । तर ती दुवै दुर्घटनाका क्रममा न मन्त्री घटनास्थल पुगे न अन्य नेताहरु नै ।
साउन २० गते राति बोगटान गाउँपालिका–६ गगुडामा शैलेश्वरी यातायातको से १ ज ४९१ नम्बरको जीप दुर्घटना हुँदा नौ जनाको घटनास्थलमै ज्यान गएको थियो । दुर्घटनामा गम्भीर घाईते भएका चार जना अझै उपचाररत छन् ।
हिन्दूहरुको दास्रो ठूलो चाड तिहारको रमझममा भएका बेला डोटीका ग्रामीण कच्ची सडकमा एक अर्को दुर्घटना भएको खवरले सबैलाई झस्कायो । उल्लासमय वातावरणमा तिहार मनाउने योजनासहित किनमेलका लागि बजार गएका आफन्तहरु कात्रो किनेर फर्कनु पर्ने अवस्था आयो ।
बडीकेदार गाउँपालिका–२ खड्यौलीमा यात्रुवाहक बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो । सुदूरपश्चिम यातायातको ना ३ ख ५६४८ नम्बरको बस दुर्घटना हँुदा घाइते भएका १८ मध्ये ४ जना भारतको बरेलीमा उपचाररत छन् ।
गाउँ–गाउँमा विस्तार गरिएका असुरक्षित सडकका कारण धमाधम यात्रुहरुको ज्यान गइरहेको छ । राजनीतिक पहुँचका आधारमा स्थानीय तह र केन्द्रबाट पावर बजेट ल्याउने, नाम मात्रको उपभोक्ता समिति गठन गर्ने र कुनै प्रकारको सम्भाव्यता अध्ययन, इष्टिमेट र प्रभाव मुल्याङ्कन नगरी काटिएका सडकहरु यात्रुहरुलाई मृत्युतिर लगिरहेको स्थानीयहरुको आरोप छ । मेसिनको प्रयोग गर्ने र मेसिन चालकले जता सजिलो देख्यो उतै उतै बाटो लैजाने गरेका कारण सडकको स्तर खस्किएको छ ।
पटक–पटक दुर्घटना हुँदा पनि सम्बन्धित पक्षले कुनै चासो नदेखाउनु दुर्भाग्यपूर्ण छ । चुनावको बेला भएको दुर्घटनामा पुग्ने राजनीतिक दलका नेताले चुनावपछि सडक सुरक्षाबारे उदासीनता देखाउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

लौकाहा-भौकाहा ताल नगर पालिकाको मिलेमतोमा शाहालाई ठेक्का

२०७४ चैत्र १४ बुधवार, भजानी कैलाली कैलालीको भजानी नगर