पोखरामा सुविधासम्पन्न भलिबल प्रशिक्षण केन्द्र

पोखरामा सुविधासम्पन्न भलिबल प्रशिक्षण केन्द्र

- in Sports
36
0
Sport Palace in Pokhara_Radio Dauna Bebri 92.4 MHz_news_0721th

२०७४ कार्तिक २१ मंगलवार

पोखरा रंगशालामा देशकै नमुना भलिबल प्रशिक्षण केन्द्र सञ्चालनमा आएको छ । प्रशिक्षण केन्द्रको सोमबार राखेपका सदस्यसचिव केशवकुमार विष्टले उद्घाटन गरे ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला भलिबल संघले डेढ वर्ष लगाएर निर्माण गरेको प्रशिक्षण केन्द्र १३ रोपनी क्षेत्रफलमा फैलिएको छ । केन्द्रमा अभ्यासका लागि समेत गरी चारवटा भलिबल कोर्ट, ३ हजार दर्शक क्षमताको प्यारापिट र चेन्जिङ रुमसहितको कार्यालय भवन निर्माण गरिएको छ । सरकारले उपलब्ध गराएको ९५ लाख रुपैयाँ र स्थानीय संघसंस्थाको २५ लाख रुपैयाँ सहयोग गरी एक करोड २० लाख रुपैयाँको लागतमा प्रशिक्षण केन्द्र निर्माण गरिएको हो । अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितासमेत आयोजना गर्न उपयुक्त यस केन्द्रमा नेपालमा हुने १३ औं सागमा भलिबल प्रतियोगिताका खेल पनि सञ्चालन गरिने बताइएको छ ।

क्षेत्रीयस्तरको प्रशिक्षण केन्द्रको व्यवस्थापन पनि भलिबल संघले गर्नेछ । भलिबल कोर्ट रातो माटो बिछयाएर पानी सोस्ने गरी बनाइएको छ । १० फिट उचाइको अभ्यास पर्खाल पनि बनाइएको छ । संघका जिल्ला अध्यक्ष भीम पराजुली प्रशिक्षण केन्द्र नेपालकै नमुना भएको बताउँछन् । उनी भन्छन्, ‘यत्तिको सुविधासम्पन्न प्रशिक्षण केन्द्र अरू ठाउँमा छैन ।’ प्रशिक्षण केन्द्रको ०७२ पुसमा सदस्यसचिव विष्टले नै शिलान्यास गरेका थिए ।

आन्तरिक स्रोत जुटाएर निर्माण सुरु गरिएको प्रशिक्षण केन्द्र सम्पन्न गर्न ५० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी जयनारायण चौधरीले सुरुमा १ लाख २५ हजार रुपैयाँ सहयोग गरेका थिए । विभिन्न व्यक्तिबाट ८ लाख रुपैयाँ संघले संकलन गरेको थियो । जिल्ला खेलकुद विकास समितिले २ लाख रुपैयाँ र राष्ट्रिय खेलकुद परिषदले १० लाख रुपैयाँ प्रशिक्षण केन्द्र निर्माणको लागि छुट्याएको थियो । प्रशिक्षण केन्द्रको निर्माण कार्य एक वर्षभित्रै सक्ने लक्ष्य लिइए पनि गत वर्ष बजेट अभावमा रोकिएको थियो । युवा तथा खेलकुद मन्त्रालयबाट चालु आर्थिक वर्षमा ६० लाख रुपैयाँ बजेट विनियोजन भएपछि निर्माण कार्यले पुन: गति लिएको थियो ।

उनले स्थानीय तहको निर्वाचन हालै सम्पन्न भएकाले पोखरा लेखनाथ महानगरमा अन्तरवडा मेयर कप भलिबल प्रतियोगिता योजना गर्ने सुनाए । ‘हामीसँग प्रशस्त पूर्वाधार भएपछि प्रतियोगिता गर्न कुनै अप्ठेरो हुँदैन,’ उनले भने । प्रशिक्षण केन्द्रमा विभिन्न संघसंस्थाले भलिबल प्रशिक्षण र प्रतियोगिता गर्न सक्नेछन् । क्लबस्तरीय, विद्यालयस्तरीय, संघसंस्थास्तरीय भलिबल प्रतियोगिता गर्न प्रशिक्षण केन्द्र उपयुक्त थलो बन्ने अध्यक्ष पराजुलीको विश्वास छ । खेलाडीलाई प्रशिक्षण दिन संघले पूर्व राष्ट्रिय भलिबल खेलाडीलाई प्रशिक्षकको रूपमा खटाउने जनाएको छ ।

प्रशिक्षण केन्द्रमा दैनिक ६० जनाले नियमित भलिबल प्रशिक्षण गर्न सक्छन् । प्रशिक्षण केन्द्रको व्यवस्थापनमा मासिक ३० हजार रुपैयाँ लाग्ने अनुमान संघले गरेको छ । व्यवस्थापन खर्च धान्न संघले पश्चिमाञ्चलको क्षेत्रीय समूह र जिल्लाका खेलाडीबाहेक अन्यसँग सामान्य शुल्क लिने भएको छ । भलिबलको ‘हब’ पश्चिमाञ्चलमा उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रशिक्षण केन्द्र निर्माण गरेको क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष खगराज पौडेल बताउँछन् । भलिबलले राष्ट्रिय खेलको मान्यता पाएकाले पनि खेल गतिविधि बढ्ने उनको अनुमान छ ।

‘पहिले गाउँ–गाउँमा थुप्रै प्रतियोगिता हुन्थे,’ पौडेलले भने, ‘अहिले सुस्ताएको जस्तो देखिएको छ । सुस्ताएको भलिबललाई पुन: उठाउन प्रशिक्षण केन्द्र सहयोगी बन्नेछ ।’ पोखरा रंगशालामा एउटा मात्रै कोर्ट हुँदा ठूला साना गरी वार्षिक एक दर्जन प्रतियोगिता हुन्छन् । प्रशिक्षण केन्द्र सुरु भएपछि प्रतियोगितामा पनि वृद्धि हुने अपेक्षा गरिएको छ । क्षेत्रीय खेलकुद विकास समितिले पोखरा रंगशालाभित्र १९ लाख रुपैयाँमा सुविधासम्पन्न मिडिया सेन्टर निर्माण गरी सोमबारदेखि नै सञ्चालनमा ल्याएको छ ।

-१३ रोपनी क्षेत्रफल

-सरकारको ९५ लाख र स्थानीय संघसंस्थाको २५ लाख गरी एक करोड २० लाख लागत

-चार वटा भलिबल कोर्ट

-३ हजार दर्शक क्षमताको प्यारापिट

-चेन्जिङ रुमसहितको कार्यालय भवन

 

  • कान्तिपुर/खेलकुद/दीपक परियार

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

कालोपत्रे नगरिएको सडकमा योजना सम्पन्न भएको बोर्ड

२०७४ मंसिर ०३ आइतवार सांसद पुष्करनाथ ओझाको निर्वाचन