कपाल काटेरै घडेरी जोडे दाजुभाइले

कपाल काटेरै घडेरी जोडे दाजुभाइले

- in banner photos, Local
52
0

कात्तिक ८

 गाउँघरमा काम पाइँदैन, हातमा सीप पनि छैन। अनि कयौं युवा पैसा कमाउनका लागि विदेश हानिन्छन्। तर, भनेजस्तो कहाँ छ र?  विदेश ‘अनेकन दुःख हन्टर खानुपर्छ,’ यस्तै सुनाउछन् भुक्तभोगीहरू।

जाँगर नचलाउने र कामलाई सानो भन्नेका लागि कैलालीको घोडाघोडी नगरपालिका– १० पहलमानपुरका दुई दाजुभाइ उदाहरणीय पात्र बनेका छन्।

दाजु इश्वर चौधरी (३४) र भाइ रामकुमार चौधरी (२८) कपाल काटेरै जीविकोपार्जन मात्र गरिरहेका छैनन्, शैलुन व्यवसायमा लाग्नेहरूलाई सीप पनि सिकाइरहेका छन्। उनीहरूले हालै मात्र साढे नौ लाख रुपैयाँमा पहलमानपुरमै घडेरी जोडेका छन्।

इश्वर भन्छन्, ‘अब पक्की घर बनाउने योजना छ, अलिअलि भएपनि पैसा बचत गर्दैछौं।’

कपाल काट्नमै वित्छ दाजुभाइको दिनचर्या
इश्वर र रामकुमारको दिनचर्या कपाल काट्नमै वित्छ। दुबै दाजुभाइ दिनभर बेफर्सदिला हुन्छन्। पहलमानपुरमा उनीहरुको इश्वर ह्याण्डसम पार्लर छ। पहिले कपाल मात्र काट्थे। तर, अहिले पार्लर पनि खोलेका छन्।

इश्वर भन्छन्, ‘पहिले ब्यूटी पार्लर मात्र हुन्थ्यो। अचेल त गाउँघरमा पनि ह्याण्डसम पार्लर खुल्न थालेपछि हामीले पनि त्यसै गर्यौं।’

दुबै दाजुभाइ दिनको १२ घण्टा दाह्रीकपाल काट्ने, कपाल रंगाउने, डेड्लक गर्ने काममा व्यस्त हुन्छन्। यो बाहेक पछिल्लो ६ वर्षदेखि कपाल डिजाइन गर्ने, कलर गर्ने र  मसाज गर्ने कर्म पनि थपिएको छ।

चार जना हेल्पर राखेका छन् इश्वरले। उनका अनुसार ती हेल्परलाई निःशुल्क रुपमा कपाल काट्न सिकाइएको हो। कपाल काट्न जान्ने भएपछि कपाल काटेको आधा रकम दिने गरेको बताउने इश्वर भन्छन्, ‘कयौंले सीप सिकेर आफ्नै पसल खोलेका छन्।’

कपाल काटेरै साढे नौ लाखको घडेरी
इश्वरका दाजुभाइले कपाल काटेरै पहलमानपुरमा घडेरी जोडेका छन्।  साढे नौ लाख रुपैयाँमा हालै मात्र आधा कठ्ठाको घडेरी जोडेको खबर सुनाउदै गर्दा इश्वरले अबको योजना पनि बताए, ‘पक्की घर लगाउने।’

कपाल काटेको ६० देखि ७० र दाह्री बनाएको ३० देखि४० रुपैयाँ लिन्छन्, उनीहरू। यसरी कपाल काटेको तथा कपाल डिजाइन गर्ने, कलर गर्ने र  मसाज गरेर मासिक २५ देखि ३० हजारसम्म बचत हुने गरेको उनले सुनाए।

कमाइ त अलि बढी नै हुन्छ,’ इश्वर सुनाउछन्, ‘महिनाको १३ सय रुपैयाँ कोठा भाडा तिर्नुपर्छ। अनि अरु खर्च पनि छ।’

इश्वरले १० वर्षअघि शैलुन व्यवसाय थाल्दा कपाल काटेको २५ र दाह्री बनाएको १० रुपैयाँ लिन्थे। उनी विगत सम्झदै भन्छन्, ‘अहिलेजस्तो महंगी थिएन। अनि शैलुनमै गएर कपाल काट्ने कम थिए। गाउँघरमै कपाल काट्न जान्नेसँग कटाउथे।’ तर, अहिले प्रायः मानिस शैलुनमै आएर कपाल कटाउने गरेको उनको अनुभव छ।

पढ्दापढ्दै शैलुन व्यवसाय, अहिले हेन्सम पार्लर
इश्वरका बुवाआमा खेतीकिसानी गर्थे। घरको जेठो सन्तान भएकाले पनि इश्वरको काँधमा जिम्मेवारी बढदै थियो। घरको आर्थिक अवस्था कमजोर।

पहलमानपुरकै कान्ति राज्य उच्चमाविमा १० जोड २ मा पढ्दै गर्दा उनले शैलुन व्यवसाय थाले। र, पढाइमा पूर्णविराम लाग्यो। उसो त इश्वर कक्षा ९ देखि नै कपाल काट्न सिक्थे। पहलमानपुरकै एउटा शैलुनमा।

उनी स्मरण गर्छन, ‘कपाल काट्न सक्ने भएपछि एउटा कच्ची कोठा भाडामा लिएर शैलुन खोले।’ उनलाई लाग्यो शैलुनको आधारभूत तालिम लिनुपर्छ। भाइ रामकुमारलाई शैलुनमा राखेर उनी धनगढी हिँडे तालिमका लागि।

अनि दुबै दाजुभाइ जमे शैलुन व्यवसायमा। ६ वर्षअघि मात्र शैलुनसँगै ह्याण्डसम पार्लर पनि जोडे, इश्वरले।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

कालोपत्रे नगरिएको सडकमा योजना सम्पन्न भएको बोर्ड

२०७४ मंसिर ०३ आइतवार सांसद पुष्करनाथ ओझाको निर्वाचन